काठमाडौं, पुष ३ । नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, लोसपाका अध्यक्ष महन्त ठाकुर र बामदेव गौतमबीच भेटवार्ता भएको छ ।
गठबन्धनको निरन्तरता र नयाँ सरकार गठनका लागि दलहरुबीच रस्साकस्सी चलिरहेका बेला वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका गौतमसहित शीर्ष नेताहरुबीच आइतबार भेटवार्ता भएको हो । निर्वाचनमा कुनैपनि दलले बहुमत प्राप्त नगरेको र सरकार गठनको सबै सम्भावना जीवित रहेकाले नेताहरुको दौडधुप बढेको हो । मुलुक अहिले अस्थिरता तर्फ जान लागिरहेकाले राष्ट्रिय राजनीतिमा भूमिका खेल्न अध्यक्ष नेपालसँग ठाकुर र गौतमले आग्रह गरेको एकीकृत समाजबादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिनुभयो । त्यस्तै उहाँले नेकपा समाजवादीको केन्द्रीय सचिवालय बैठकमा राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको भन्दै गठबन्धनको भावना र मर्म अनुसार अघि बढ्ने निर्णय भएको बताउनुभयो ।
बैठकले सोमबार पार्टीको संसदीय दलको नेता छनौट गर्न बैठक बोलाएको पनि उहाँले जानकारी दिनुभयो ।











