रौतहट, १७ असोज । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट जारी परमादेशपछि बारा क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दन कुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ
जिल्ला प्रहरी कार्यालय बारामा गत असोज ६ गते देवताल गाउँपालिका–५ का ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार मुद्दामा अनुसन्धान अघि बढाइएको छ। हालसम्म सांसद सिंह वा अन्य प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी नभएको प्रहरीले जनाएको छ।
महतो देवताल गाउँपालिकामा सुपरभाइजर पदमा कार्यरत छन्। उनले गाउँमा हुने गलत गतिविधिको विरोध तथा विकास निर्माणका काममा सक्रियता देखाएकै कारण आफूलाई सामाजिक रूपमा बहिष्कार र अपमान गर्ने निर्णय गरिएको आरोप जाहेरीमा लगाएका छन्।
जाहेरीअनुसार २०८१ साल कात्तिक २७ गते सांसद सिंहसहित अन्य व्यक्तिहरूको सहभागितामा आफूलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरिएको दाबी गरिएको छ। त्यसपछि आफू र परिवारका सदस्यलाई गाउँमा हुने विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको तथा सार्वजनिक र धार्मिक स्थलमा समेत बहिष्कार गर्ने प्रयास गरिएको महतोको आरोप छ।
महतोले आफूविरुद्ध गाउँघरमा चरित्र र व्यक्तित्वमा आँच पुग्ने किसिमका कुरा प्रचार गरिएको तथा अपमानजनक व्यवहार गरिएको समेत जाहेरीमा उल्लेख गरेका छन्। घटनासँग सम्बन्धित प्रमाणका रूपमा सामाजिक बहिष्कारसम्बन्धी निर्णयको फोटोकपीसमेत प्रहरीमा बुझाइएको बताइएको छ।
जाहेरीमा सांसद सिंहसँगै रामबाबुप्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पासवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतोलाई विपक्षी बनाइएको छ।
महतोका अनुसार गाउँमा विकाससम्बन्धी काममा केही व्यक्तिबाट अवरोध सिर्जना भइरहेको थियो। आफूले ती अवरोधका बाबजुद विकास निर्माणका काम अघि बढाउन पहल गरेपछि आफूमाथि सामाजिक बहिष्कारको निर्णय गरिएको उनको दाबी छ।
स्थानीय तहको अध्यक्षदेखि संघीय सांसदसम्म
सांसद सिंहको राजनीतिक यात्रा स्थानीय तहबाट सुरु भएको हो। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट देवताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
पछि रास्वपामा प्रवेश गरेका सिंह २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन्।
हाल उनीविरुद्ध दर्ता भएको मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। मुद्दामा लगाइएको आरोपको कानुनी पुष्टि भने अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट हुने प्रहरीको भनाइ छ।










