सोविता गौतमले भनिन्– जेनजी आन्दोलनका सपना पूरा गर्न सरकार प्रतिबद्ध छ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी आन्दोलनका सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा बानेश्वरस्थित तत्कालीन संसद् भवन परिसरमा आयोजित कार्यक्रममा उनले आफूहरू पनि आन्दोलनका पीडा र घटनाका कारण निदाउन नसकेको बताइन्।

उनले २०८२ भदौ २३ र २४ गते भएका घटनालाई एउटै आँखाले हेर्न नहुने बताइन्।

“२३ गतेको जस्तो नियति कसैले भोग्न नपरोस्,” उनले भनिन्, “जुन पीडा तपाईंहरूलाई भएको छ, हामीलाई पनि भएको छ। हामी पनि चैनले निदाउन पाएका छैनौँ।”

उनले प्रतिनिधिसभामा रास्वपाका निर्वाचित सांसद रहे पनि राष्ट्रियसभामा रास्वपाको उपस्थिति नहुँदा कानुन निर्माणमा असहजता भएको संकेत गरिन्।

“प्रतिनिधिसभामा निर्वाचित व्यक्ति हुनुहुन्छ। अरू ठाउँमा को हुनुहुन्छ, कसले सहयोग गर्नुभएको छ, गर्नुभएको छैन, तपाईंहरूले मूल्यांकन गर्नुभएको होला,” उनले भनिन्।

मन्त्री गौतमले आपसमा लड्दा विरोधीले ठाउँ पाउने बताउँदै सरकार सफा नियतका साथ आएको दाबी गरिन्। नियत सफा राखे देश निर्माण गर्न धेरै समय नलाग्ने उनको भनाइ छ।

“नियत सफा राख्यौँ भने देश बन्न धेरै समय लाग्दैन। सरकार सफा नियतसहित आएको छ। तपाईंहरूले देखेका, सहिदले, घाइतेले देखेका हरेक सपना पूरा गर्न पूर्ण प्रतिबद्ध छ,” उनले भनिन्।

उनले सरकारले सही ढंगले काम गरिरहेको भन्दै सरकारमाथि विश्वास राख्न पनि आग्रह गरिन्।

“हामी विस्तार गर्दैछौँ। सबै कुरा व्यवस्थित तरिकाले गर्दैछौँ। ठीक तरिकाले गर्दैछौँ। सरकारमाथि विश्वास राख्नुस्,” उनले भनिन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्