विराटनगर । जिल्ला कारागार मोरङमा कैदीबन्दीबीच झडप भएको छ। विराटनगर–८ स्थित कारागारमा शुक्रबार दिउँसो दुई पक्षबीच झडप भएको हो।
झडपपछि १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए।
उनका अनुसार ‘बी ब्लक’मा रहेका १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको हो। कैदीबन्दीलाई यातना दिएको तथा रकम असुल गरेको आरोप चौकीदार विशाल निरौला पक्षमाथि लगाएपछि दुई पक्षबीच विवाद बढेर झडप भएको प्रहरीले जनाएको छ।
यसअघि ‘बी ब्लक’मा प्रहरीलाई प्रवेश गर्न निषेध गरिएको थियो। प्रहरीले बी ब्लकमा प्रवेश गरेपछि कैदीबन्दीको एक समूहले विरोध गर्दै नाराबाजी गरेको थियो।
शुक्रबार १९ जना कैदीबन्दीलाई बाहिर निकालेपछि कारागारको अवस्था अहिले सामान्य रहेको प्रहरी प्रमुख कटवालले बताए।
उनका अनुसार कारागारबाट निकालिएका १९ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ।









