मेक्सिकोमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । शुक्रबार मेक्सिकोको दक्षिणी तटमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरका केही भागहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।

अमेरिकी सुनामी चेतावनी प्रणालीका अनुसार मेक्सिको र ग्वाटेमालाको तटीय क्षेत्रहरूमा सामान्य भन्दा ०.३ देखि १ मिटर अग्ला खतरनाक सुनामी छालहरू आउन सक्छन् ।

दक्षिणी मेक्सिकोको ओक्साका राज्यका गभर्नर सालोमन जारा क्रुजले भूकम्प मध्यम तीव्रताको भएको बताए । यद्यपि, अहिलेसम्म कुनै ठूलो क्षतिको रिपोर्ट आएको छैन ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पको धक्का ग्वाटेमाला र एल साल्भाडोरमा पनि महसुस गरिएको थियो । ग्वाटेमाला सिटीमा आतंकित बासिन्दाहरू घरबाट बाहिर निस्किएका थिए ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु मेक्सिकन शहर प्यूर्टो माडेरो नजिकै थियो र यसको गहिराई १५.२ किलोमिटर रेकर्ड गरिएको थियो ।

सतर्कता प्रणालीले जोखिममा रहेका तटीय क्षेत्रका सरकारी निकायहरूलाई मानिसहरूलाई सतर्क गराउन र आवश्यक सुरक्षा उपायहरू लागू गर्न आग्रह गरेको छ ।

साथै, तटीय क्षेत्रका बासिन्दाहरूलाई आधिकारिक जानकारीमा ध्यान दिन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अपील गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्