२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यहरूमध्ये पाँच लाख ३८ हजार ६२२ जनाले क्रियाशील सदस्यता प्राप्त गरेका छन्।
एक लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत अद्यावधिक कार्यको प्रक्रियामा रहेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने उनको भनाइ छ।
नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि खुला रहने कांग्रेसले जनाएको छ। जेठ २१ गते पहिलोपटक थपिएको म्याद सकिएपछि जेठ २८ गते राति १२ बजेसम्म थप गरिएको थियो।
संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सञ्चालन भएको क्रियाशील सदस्यता अद्यावधिक कार्यमा देशभर उत्साहजनक रूपमा अधिकांश क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कांग्रेसले जनाएको छ।









