बिटुमिन आयातमा अधिकतम भन्सार छुट, बहुमूल्य धातु तथा गहनामा १५ प्रतिशत भन्सार 

खबर बुक
  • ख-
  • ख+

२० जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै भन्सार दरहरू चलाएको छ । बजेट मार्फत सरकारले ५० प्रतिशत बिन्दुसम्म भन्सार बढाइ २५ प्रतिशतसम्म घटाएको हो ।

१५ जेठमा ल्याएको आगामी आव बजेट लगत्तै अर्थात् १६ गतेदेखि भन्सार दर परिवर्तन भएको छ । सरकारले आर्थिक विधेयक मार्फत बिटुमिन आयातमा २५ प्रतिशतसम्मको भन्सार घटाएको छ ।

चालु आव अर्थात् १४ जेठसम्म बिटुमिन आयातमा सरकारले सार्क मुलुकबाट ल्याएको खण्डमा ११.२५ र अन्य मुलुकका हकमा ३० प्रतिशत भन्सार कायम गरेको थियो । १६ जेठदेखि बिटुमिन आयातमा सार्क मुलुकबाट आयात गर्दा र अन्य मुलुकबाट आयात गर्दा ५ प्रतिशत मात्रै भन्सार लगाएको छ ।

सरकारले प्रशोधित सुर्तीको भन्सार ५० प्रतिशत बिन्दुले बढाएको छ । चालु आव ३० प्रतिशत भन्सार रहेको प्रशोधित सुर्तीको मूल्यमा ८० प्रतिशत भन्सार कायम गरेको हो ।

त्यसैगरी बहुमूल्य धातु र त्यसका गहनाका हकमा भन्सार दर १५ प्रतिशत सम्मले बढाएको छ । १४ जेठसम्म बहुमूल्य धातु तथा गहना आयातमा सार्क मुलुकका हकमा ९.५ र अन्यका हकमा १५ प्रतिशत भन्सार कायम थियो । आगामी आवको बजेटपछि यस्तो दर १५ प्रतिशत बिन्दुसम्मले बढेर ३० प्रतिशत पुगेको छ ।

सरकारकाले आगामी आवको बजेट ल्याएसँगै १३ वस्तुको भन्सार माफी गरेको छ । भन्सार माफी भएका वस्तुमा विद्युतीय चुलो लगायत छन् ।

त्यसैगरी ३ सय १७ वस्तुको भन्सार घटाएको छ भने १ सय ८ वस्तुमा लाग्ने भन्सार बढाएको छ । भन्सार बढ्ने सुर्तीजन्य वस्तु, रक्सी, सवारीसाधन लगायत छन् । सरकारले भन्सार घटाएका वस्तुमा दूध, दुधजन्य पदार्थ, कफी, केक लगायत आयातमा भन्सार घटेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्