निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक छः राष्ट्रपति

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गरेकाछन् ।

राष्ट्रपति पौडेलले ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेका सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अझ बढी अग्रसरता लिनुपर्ने उल्लेख गरे ।

सन्देशमा भनिएको छ, “मानवले मानवजस्तो भएर बाँच्न पाउने जीवनको आधार मानव अधिकार भएकाले आज विश्वमा मानव अधिकार दिवसलाई उच्च महत्वका साथ मनाइँदैछ, मानव अधिकार जन्मसिद्ध हक भएकाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका विषय नेपालको संविधानले अवलम्बन गर्दै स्वतन्त्रता, समानता र न्यायलाई मजबुत बनाउन योगदान पुर्‍याएको छ ।”

नेपाल मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्षराष्ट्रसमेत भएकाले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति सदैव प्रतिबद्ध एवम् संवेदनशील रहिआएको उल्लेख गर्दै सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक सङ्घ, संस्था, सञ्चारमाध्यम तथा निजीक्षेत्रको सक्रियताले कमजोर तथा जोखिममा रहेका समूहको हकअधिकार, स्वतन्त्रता र न्यायको अनुभूति गराउन आवश्यक थप काम गर्नसकेमा मानव अधिकार दिवसले थप सार्थकता पाउने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरे । रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्