बैतडी । जिल्लाको सूर्नया गाउँपालिका–५ कठेगौड नजिक मिनि ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। सूर्नया गाउँपालिका–४ सन्सेरीमाण्डौबाट धनगढीतर्फ जाँदै गरेको भे १ क १६३९ नम्बरको मिनि ट्रक बिहीबार राति करिब १२ बजे दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
दुर्घटनामा परी ट्रक चालक तथा सूर्नया गाउँपालिका–४ निवासी २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बलदेव बडूले बताए। दुर्घटनाग्रस्त ट्रक खाली रहेको र चालक मात्र सवार रहेको प्रहरीको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ।
दुर्घटना राति भएको भए पनि घटनाबारे स्थानीयले शुक्रबार बिहान करिब ८ बजे सडकबाट ट्रक खसेको अवस्थाम देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली पुगेपछि चालक महरालाई मृत अवस्थामा फेला परेको पुष्टि गरेको हो।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










