काठमाडौँ । कागेश्वरी–मनोहरा नगरपालिकाले वडा नं। ७ का अध्यक्ष भीमसेन थापाको निधनमा शुक्रबार एक दिनका लागि नगरभित्र शोक बिदा दिएको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार सबै वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था, आयुर्वेद अस्पताल, सम्बन्धित कार्यालयहरू तथा सामुदायिक विद्यालयहरू बन्द रहनेछन्।
डेढ वर्षदेखि क्यान्सरबाट पीडित अध्यक्ष थापाको बिहीबार बिहान उपचारका क्रममा अस्पतालमै निधन भएको थियो। उनी नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं। २ का सचिव पनि रहेका थिए।
थापाको पार्थिव शरीरमा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह, महामन्त्री गगन थापा तथा नगर प्रमुख उपेन्द्र कार्कीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। बिहीबार नै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको परिवारले जनाएको छ।
नगरवासी तथा राजनीतिक क्षेत्रमा सक्रिय समुदायले थापाको निधनले ठूलो क्षति भएको जनाएका छन्।











