काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको बताएकी छन ।
बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका बिषयमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत आयोजना प्रभावित क्षेत्र गोरखा र धादिङका केही पूर्वजनप्रनिधिहरु तथा स्थानीय सरोकारवालासँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र उक्त पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त करवापतको रकम पनि प्रत्येक वर्ष खातामा जाने व्यवस्थाका लागि पनि आवश्यक प्रक्रिया अघि बढाइने बताएकी हुन । यससम्बन्धी प्रक्रिया छिटो अघि बढाउन उहाँले ऊर्जा र अर्थ मन्त्रालयलाई निर्देशन पनि दिईन । पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजना अघि बढाउन सरकारले देखाएको तत्परता सकारात्मक रहेको भन्दै छिटो आयोजना अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिए।
उनले यसलाई केवल विद्युत आयोजनामा मात्र सीमित नगरी बहुउद्देश्यीय आयोजनामा विकास गर्न छुट्टै प्राधिकरण गठनका लागि सुझाव दिएको बताए। १२ सय मेगावाटको यस जलविद्युत आयोजनाको लागत २०७९ मा २ खर्ब ५५ अर्ब अनुमान गरिएको थियो। अब यो लागत ४ खर्ब नाघ्ने अनुमान छ ।













