विराटनगर दुग्ध वितरण आयोजनामा पुनः पाउडर दुध उत्पादन सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १६ मंसिर । विराटनगरमा दुध संकलन भएसँगै स्थिर आपूर्ति व्यवस्थापन उद्देश्यका साथ विराटनगर दुग्ध वितरण आयोजनाले पुनः पाउडर दुध उत्पादन सुरु गरेको छ ।

पूर्व क्षेत्रका कृषकबाट दैनिक करिब १२ हजार लिटर दुध संकलन हुने तर बजारमा दैनिक ४ हजार लिटर दुध तथा दुग्धजन्य पदार्थ मात्र बिक्री हुने अवस्थामा दुधको उपयोगका लागि पुनः पाउडर दुध उत्पादन सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाले काठमाडौँस्थित मनराम हिमालयन ह्याण्डिक्राफ्ट प्रालिलाई करिब १ हजार किलो अर्ध–तयारी कच्चा चीज वितरण हुँदै आएकोमा कम्पनीको बैंक ग्यारेन्टी म्याद सकिएपछि हालका लागि सो सामग्री वितरण रोकिएको जनाएको छ । नयाँ सम्झौता प्रक्रियामा केही समय लाग्ने भएकाले सङ्कलित दुध नष्ट हुन नदिई पाउडर दुध उत्पादनतर्फ फर्कनु परेको आयोजनाका निमित्त प्रमुख हिर बहादुर मगरले बताउनुभयो । अहिले तीन–चार दिनको अन्तरालमा एक पटक पाउडर दुध उत्पादन भइरहेको उहाले जानकारी दिनुभयो ।

विराटनगर दुग्ध वितरण आयोजनामा हाल करिब ९८ मेट्रिक टन मक्खन र १०७ मेट्रिक टन पाउडर दुध मौज्दात रहेको छ । दुध संकलन वृद्धि, उत्पादन विविधीकरण र मौज्दात व्यवस्थापनमार्फत कृषकको दुध सुनिश्चितरूपमा उपयोग हुने वातावरण बन्न थालेको आयोजनाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्