काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र अनुभवलाई समाज तथा सहरको विकासमा उपयोग गर्ने उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरू गरेको छ।
शहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाका अनुसार यस कार्यक्रममार्फत विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरूले अवकाशपछि पनि शहर र देशको विकासमा योगदान दिने अवसर पाउनेछन्।
बास्तोलाका भनाइमा, “शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, शहरी विकास, सम्पदा संरक्षणजस्ता क्षेत्रमा महानगरसँग सहकार्य गर्दै ज्ञान र सीप बाँड्न सकिनेछ।”
महानगरले यस कार्यक्रमलाई ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’ अनुसार अघि बढाएको हो। कार्यविधिअनुसार इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।











