काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतः सफा रहनेछ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव देखिएको छ, जसका कारण दिउँसो सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने विभागले जनाएको छ।
विभागद्वारा जारी मौसम बुलेटिन अनुसार, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।
साँझपख र राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफै रहनेछ।
मौसम महाशाखाले हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले पछिल्लो मौसमी जानकारी लिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











