काठमाडौं, कार्तिक ३ । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्पत्ति छानबिन सुरु भएपछि देश छाडेर ‘भागेको’ दाबी गरेका तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले आफू भागेको नभई गम्भीर डेंगु संक्रमणको उपचारका लागि भारत गएको स्पष्टीकरण दिएका छन्।
बुढानीलकण्ठस्थित आफ्नै जलेको निवासबाट सार्वजनिक भएका खड्काले आफू र आफ्ना बच्चालाई डेंगु लागेपछि भारतको वेदान्त अस्पतालमा ११ दिनसम्म उपचार गराएको र सोको रेकर्ड आफूसँग सुरक्षित रहेको बताएका हुन्। उनले भने,”बिरामी भएपछि उपचारका लागि भारतमा गएँ। डेँगु भएछ। ११ दिन वेदान्त अस्पतालमा बसेको रेकर्ड छ। बच्चा पनि सँगै थियो बच्चालाई पनि भएछ।”
आफू र बच्चा बिरामी भएको र आफ्ना विरुद्ध गृहमन्त्री र मिडियाहरूले भ्रामक समाचार सार्वजनिक गरेपछि आफ्नी श्रीमती अहिले पनि ‘ट्रमा’ (मानसिक आघात) मा रहेको भन्दै उनले दुःख व्यक्त गरे।
भदौ २४ गतेको आन्दोलनका क्रममा प्रदर्शनकारीहरू घरको ढोकामा पुगेपछि अंगरक्षकहरूले आफूलाई बाहिर निकालेको र त्यसपछि आफू सेनाको ब्यारेकमा बसेको खड्काले जानकारी दिए। सेनाको क्याम्पबाट निस्केपछि ३-४ दिन तराईमा बसेको र सोही ठाउँबाट उपचारका लागि भारत गएको उनले बताए।











