काठमाडौं, कार्तिक ३ । जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण, आगजनी र हतियार लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडीबुटी बस्दै आएका ४८ वर्षीय गौतम घिसिङ रहेका छन्। उनलाई आइतबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार घिसिङलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गर्ने, प्रहरी टोलीमाथि आक्रमण गरी बर्दी खोल्न लगाई बागमती खोलामा साङ्घातिक आक्रमण गर्ने र कर्तव्य पालनामा खटिएका प्रहरीको हतियार तथा गोलीगठ्ठा लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो।
घिसिङमाथि काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसूरमा आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।











