तिहारमा राति ८ बजेसम्म मात्र मनोरञ्जनस्थल र देउसी–भैलो सञ्चालन गर्न गोकर्णेश्वरको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले आसन्न तिहार पर्वको शान्ति सुरक्षा सुनिश्चित गर्न विशेष सूचना जारी गरेको छ । नगरपालिकाको ४१औँ कार्यपालिका बैठकको निर्णयअनुसार दोहोरी साँझ, डान्सबार, डिस्को, रेष्टुरेन्ट तथा मादक पदार्थ विक्री–वितरण गर्ने पसलहरू राति ८ बजेपछि सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

नगर प्रमुख दिपक कुमार रिसालद्वारा जारी सूचनामा देउसी–भैलोको सांस्कृतिक महत्व जोगाउँदै पर्वलाई अनुशासित र सुरक्षित रूपमा मनाउन नगरवासीलाई आग्रह गरिएको छ । साथै, नगर क्षेत्रभित्र पटका र बारुदजन्य पदार्थ विक्री, वितरण र प्रयोग नगर्नुहुन समेत सबैलाई अनुरोध गरिएको छ ।

सूचनामा उल्लेख भएअनुसार, पटका पड्काउँदा हुन सक्ने आगजनी, जनधनको क्षति र बालबालिकाको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै नियन्त्रणको अपिल गरिएको छ ।

त्यसैगरी, मौलिक संस्कृति झल्किने देउसी–भैलो कार्यक्रमका श्रव्य–दृश्य सामग्रीहरू नगरपालिकाले उपलब्ध गराएको ह्वाट्सएप नम्बरमा पठाउन पनि अनुरोध गरेको छ । उत्कृष्ट सामग्री पठाउनेलाई विशेष सम्मान प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्