काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ।
पार्टी स्रोतका अनुसार आजको बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नेछ। साथै, महाधिवेशनको तयारीलाई तीव्रता दिने विषयमा समेत छलफल हुने जनाइएको छ।
यसअघि हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिर महिनाभित्रै विधि प्रक्रिया पूरा गरी महाधिवेशनको मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका थिए। नेताहरूले पार्टी संगठन सुदृढीकरण र नेतृत्व चयन प्रक्रियामा ढिलाइ नगर्न नेतृत्वलाई सुझाव दिएका थिए।
कांग्रेसले पार्टी विधानअनुसार समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व रहँदा, आजको बैठक निर्णायक बन्ने अपेक्षा गरिएको छ।











