काठमाडौं, असोज २३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताएका छन्।
१५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उहाँले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिए।
‘हुलाकको आवश्यकता र सार्थकता घटेको छैन’, मन्त्री खरेलले भने, “हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्छ।’ सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले यसबाट मात्रै हुलाक सेवाको विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताए।
‘स्थानीय तह र समुदाय, परिवार र व्यक्तिको तहसम्म हुलाक सेवा पुर्याउनुपर्छ। विश्वको जुनसुकै देशमा रहेका नेपालीका बीचमा हुलाक सेवाको पहुँच हुनुपर्छ,’ मन्त्री खरेलले भने। उनले हुलाक सेवालाई सुदृढ बनाउन मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गरे।











