काठमाडौं, २३ असोज । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ।
अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हरायो। नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य कुवेतले भेट्टाउन सकेन। जवाफी ब्याटिङमा उत्रिएको कुवेतले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८३ रन बनाउन सक्यो।
जितसँगै नेपालले ‘सुपर सिक्स’मा पुग्न एक कदम अगाडि बढेको छ। नेपालले समूहको दोस्रो खेलमा शुक्रबार जापानसँग प्रतिस्पर्धा गर्नेछ।
सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। राउन्ड रोविनको आधारमा समूहको शीर्ष दुई टोली सुपर सिक्समा पुग्ने छन्। सुपर सिक्स पनि राउन्ड रोविनकै आधारमा खेलाइनेछ।
जसमा शीर्ष तीनभित्र अटाउने टोलीले अर्को वर्ष भारत र श्रीलंकाको संयुक्त अयोजनामा हुने विश्वकपको १०औं संस्करणमा स्थान बनाउनेछ।












