काठमाडौं, २१ असोज। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले बेलबेलामा बत्ती जाने समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरी मन्त्री घिसिङले छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।
देशका विभिन्न ठाउँबाट बत्ती जाने गरेको गुनासो आइरहेको छ । मन्त्री घिसिङ सोमबार साँझ काठमाडौंको स्यूचाटारस्थित भारप्रेषण केन्द्रको अनुगमन गरी देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरुलगायतका विषयमा जानकारी लिएका थिए ।













