सिन्धुपाल्चोकमा भारी वर्षाको पूर्वानुमान, रातको समयमा सवारी आवागमनमा रोक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १७ । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखी २० गतेसम्म सिन्धुपाल्चोक लगायत नेपालका धेरै भूभागमा भारी देखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासनले विपद् जोखिम न्यूनीकरणका लागि विशेष निर्णय गरेको छ।

बाढी, पहिरो, डुबान र चट्याङको उच्च जोखिम रहेकोले जिल्ला भित्रका सबै राजमार्ग र मुख्य सडकमा रातको ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन संचालनमा रोक लगाइएको छ। तर, दमकल र एम्बुलेन्स जस्ता अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन्।

जिल्ला प्रशासनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको एड्भाइजरीको व्यापक प्रचारप्रसार गर्न र जनस्तरसम्म पुर्‍याउन निर्देशन दिएको छ। साथै, जिल्ला निकाय र सुरक्षा निकायका सबै युनिटलाई उपलब्ध स्रोत साधन सहित पूर्ण सतर्क अवस्थामा रहन आदेश दिइएको छ।

नदी किनार र उच्च जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सार्न सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय गर्न निर्देशन दिइएको छ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखा, उद्योग वाणिज्य संघ र चौतारा अस्पताललाई आकस्मिक उद्धार तथा राहतका लागि पूर्ण तयारी अवस्थामा रहन भनिएको छ। जिल्लाभित्र कार्यरत सबै मानवीय सेवा संघ संस्थालाई आवश्यक स्रोत साधन एकद्वार मार्फत परिचालन गर्न समेत अनुरोध गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्