काठमाडौं, ९ असोज । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सार्वजनिक तथा सरकारी संरचनाहरूको पुनर्निर्माण गर्न सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ। कोषमा सबै क्षेत्रबाट सहयोग जुटाउन सरकारद्वारा सार्वजनिक आह्वान गरिएको छ।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आन्दोलनले पुर्याएको क्षतिको मूल्यांकन गर्दै पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चित गर्न कोष स्थापना गरिएको जानकारी दिए।
उनका अनुसार भौतिक पूर्वाधार पुनर्निर्माण समिति ९गठन० आदेश, २०८२ जारी गर्दै कोषको औपचारिक गठन गरिएको हो। मन्त्री घिसिङले निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली, विकास साझेदार, मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संस्था–संघहरूसँग कोषमा योगदान गर्न आग्रह गरे।
ूराष्ट्र पुनर्निर्माणको यो अभियानमा सबैको साथ आवश्यक छ। कोषमा जम्मा हुने रकम पूर्ण रूपमा पारदर्शी ढंगले खर्च हुनेछ,ू मन्त्री घिसिङले भने।
सरकारले आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण, मर्मत, आर्थिक पुनरुत्थान, राहत तथा पुनस्र्थापनाका लागि सो कोषलाई केन्द्रीय माध्यम बनाउने जनाएको छ।











