प्रधानमन्त्री र गृहमन्त्रीद्वारा निर्वाचन आयोगसँग छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग महत्वपूर्ण छलफल गरेका छन्।

छलफलका क्रममा निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति, सामग्री, स्रोतसाधन तथा मतदाता नामावलीको अवस्थाबारे व्यापक कुराकानी भएको थियो। निर्वाचन आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सरकार र आयोगबीच आपसी सहकार्यको समझदारी भएको छ।

भट्टराईले जानकारी दिएअनुसार, निर्वाचनसम्बन्धी हालको कानुनी संरचनामा आवश्यकताअनुसार संशोधन गर्नुपर्ने विषयमा पनि छलफलमा सहमति जुटेको छ। उनले यो प्रारम्भिक चरणको छलफल भएको उल्लेख गर्दै, आगामी दिनहरूमा सम्भावित चुनौतीहरूबारे थप विस्तृत छलफल हुने जानकारी दिए।

सरकार र आयोगबीच निर्वाचन प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन संविधानबद्ध संस्थाहरू, राजनीतिक दल, नागरिक समाज तथा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै काम गर्ने सहमति पनि छलफलमा भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्