प्रधानमन्त्री कार्कीको प्रतिबद्धता जनआकांक्षा अनुरूप दृढ संकल्पका साथ अगाडि बढ्छौ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित विशेष समारोहमा देशको वर्तमान संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्दै सरकार जनआकांक्षा अनुसार दृढ संकल्पका साथ अघि बढ्ने स्पष्ट संकेत दिनुभएको छ।

शुक्रबार टुँडिखेलमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विभिन्न जनआन्दोलनको मर्मलाई आत्मसात गर्दै पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता राष्ट्रिय एजेण्डालाई प्राथमिकतामा राखी काम गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो।

प्रधानमन्त्री कार्कीले आफू पदको लोभमा नभई, मुलुक सङ्कटको घडीमा युवापुस्ताको आग्रह र राष्ट्रिय आवश्यकताका आधारमा नेतृत्व सम्हालेको बताउनुभयो। उहाँले आगामी ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचनमार्फत जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने स्पष्ट गर्नुभयो।

कार्कीले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन र कानूनी शासनप्रति गम्भीर प्रतिबद्धता व्यक्त गर्दै यिनै मूल्यमान्यतामा कमजोरी देखिएकै कारण आजको अवस्था आएको उल्लेख गर्नुभयो।

उहाँले भने, “कानूनी शासन र सुशासनमा खरो नउत्रनुका कारण आज मुलुक संक्रमणमा छ। अब यो स्थितिबाट पार पाउन सबैले आ(आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ।”

प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाहरूको पुनर्निर्माण, व्यवसायिक प्रतिष्ठानहरूको पुनर्स्थापनाका लागि सरकार जिम्मेवार रहेको र यस कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्