गोकर्णेश्वर नगरपालिकाको आकस्मिक बैठक: शान्ति सुरक्षा र पुनर्निर्माणमा जोड

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । पछिल्लो उत्पन्न असामान्य परिस्थितिलाई मध्यनजर गर्दै गोकर्णेश्वर नगरपालिकाको आकस्मिक बैठक सम्पन्न भएको छ।

नगर प्रमुख दिपक कुमार रिसालको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख, सम्पूर्ण वडा अध्यक्षहरू, नेपाल आर्मीका कर्णेल तथा मेजर, नेपाल प्रहरीका डीएसपी, नगर प्रहरी, ग्रीन आर्मी नेपाल, नगर स्काउट, युवा तथा खेलकुद समिति, स्वास्थ्य प्रमुख, नगर अस्पताल प्रमुख लगायत सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।

‘जेन–जी’ आन्दोलनका क्रममा नगरपालिकाको वडा नम्बर ५, ६, र ७ का वडा कार्यालयहरूमा आगलागी, पूर्णरूपमा ध्वस्त र वडा नम्बर १ र ३ मा तोडफोड भएको छ भने प्रहरी चौकी र केही स्वास्थ्यचौकी समेत क्षतिग्रस्त,कार्यालयहरूबाट सामग्री चोरी र लुटपाट पनि भएको छ । आन्दोलका क्रममा जनताको करबाट निर्माण भएका संरचनामा व्यापक क्षति भएको छ ।

नगरपालिकाको आकस्मिक बैठकले हरेक वडामा वडा अध्यक्षको अगुवाइमा युवाहरू परिचालन गरिने,नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी, ग्रीन आर्मी, स्काउट, र युवा समितिको सहकार्यमा शान्ति सुरक्षाको कामलाई अघि बढाइने,नगर प्रहरीका २ वटा, स्काउटका १ वटा, र ग्रीन आर्मीका १ वटा गाडी परिचालन गरी टोलटोलमा नियमित पेट्रोलिङ गरिने निर्णय गरेको छ ।

यस्तै नगरभरिका सिसी क्यामेरा प्रणालीबाट निगरानी गरिने,बिग्रिएका क्यामेरा तुरुन्त मर्मत गरिने,ध्वस्त संरचनाहरूको सरसफाइ तथा पुनर्निर्माण कार्य तुरुन्त सुरु गरिने,नगरपालिका र वडा कार्यालयबाट हुने सेवा चाँडै सुचारु गरिने निर्णय भएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख रिसालका अनुसार घरबाहलमा बस्ने व्यक्तिहरूको विवरण घरबेटीहरूले अनिवार्य रूपमा राख्नुपर्ने ,युवा क्लब, टोल सुधार समिति, महिला समूहलगायत संघसंस्थालाई वडा अध्यक्षमार्फत शान्ति सुरक्षामा समन्वय गरिने,नगरभित्रका सम्पूर्ण पसल र व्यवसायहरू बेलुकी ८ बजेभित्र बन्द गर्नुपर्ने निर्णय गरिएको छ।


यस्तै गोकर्णेश्वर नगर अस्पताल, नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, र अर्थोपेडिक अस्पतालहरू २४ घण्टा खुला रहने भएका छन्।


नगरपालिकाले विपद् सम्बन्धी नेपाली सेना फोन नम्वर ९७६८९९२०२०,सुरक्षा सहायता (नेपाली सेना) फोन नम्वर ९८५७०२१५२९,नेपाल प्रहरी हटलाइन१००,सशस्त्र प्रहरी बल १११४ -१११२,नगर प्रहरी ९८४१६८९१६५,ग्रीन आर्मी ९८४९९९९९९९,स्काउट९८४९३८२९६१,स्थानीय युवा व्यवस्थापन ९८५१०७४५३,एम्बुलेन्स हटलाइन ९७६५४१४२८०,अस्पताल समन्वय केन्द्र ९८४१३९१०००,गोकर्णेश्वर नगर अस्पताल ९८५१२४८७५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ । नगरवासीहरूले आपत वा विपद् परेमा तत्काल सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको सम्पर्कमा रहनु हुन पनि अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्