भ्रष्टाचारविरुद्ध ‘जेन जी’ ले आज माइतीघर मण्डलामा प्रदर्शन गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ भाद्र । आज (सोमबार) ‘जेन जी’ पुस्ताले सरकारको भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल प्रतिबन्ध गरेको विरोधमा प्रदर्शन गर्दैछन् । आज बिहान ११ बजेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका हुन् ।
स्थानीय प्रशासनले समेत प्रदर्शनलाई अनुमति दिएको छ ।

‘जेन जी’ ले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् । विज्ञप्तिमा आफ्नो आन्दोलनको उद्देश्य स्पष्ट पार्दै भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने रहेको उल्लेख गरेको छ । यो कदमबाट भ्रष्टाचारलाई निस्प्रभावी पार्दै न्याय, शान्ति र विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् ।

जेनजीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । उनीहरूले आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको बताएका छन् ।

आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन् ।

जेन जीले सरकार र राज्यका निकायहरूलाई पनि शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो अधिकारको सम्मान गर्न माग गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्