काठमाडौं, भदौ २२ । ललितपुर महानगरपालिकाले लगनखेलमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ ।
ललितपुरको ऐतिहासिक महत्वको न्हु पोखरी संरक्षणका लागि महानगरले बनाइएको डिपिआरको क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काइएको हो । महानगरले लगनखेलमा रहेको बुद्धि बिकास मण्डल र क्षयरोग निवारण संस्था ललितपुर कार्यसमितिको दुई वटा भवनमा डोजर लगाएको भत्काइएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो । यसअघि महानगरले सोहि क्षेत्रमा रहेको ५ नं. वडा कार्यालय भवन साथै लगनखेलसम्मका पसल कवल भत्काएको थियो । भवन भत्काउने महानगरको निर्णयबिरुद्ध बुद्धि बिकास मण्डल र क्षयरोग निवारण संस्था उच्च अदालत गएको थियो, तर अदालतले स्टे अर्डर नदिएपछि महानगरले भवन खाली गर्न सूचना जारी गरेको थियो । ३५ दिने अवधि सकिएपछि कार्यालय समयमा उक्त भवन भत्काइएको महानगर प्रमुख महर्जनले बताउनुभयो ।
महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरूको संरक्षण गर्ने नीति बमोजिम न्हुः पोखरीको जीर्णोद्धार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन नगर कार्यपालिकाबाट स्वीकृत समेत गरिसकिएको उहाले जानकारी दिनुभयो ।











