काठमाडौं, भदौ २० । गायक घनश्याम रिजालको नयाँ लोकगीत ‘साथी’ सार्वजनिक गरिएको छ। राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा सेल्सबेरी टावर (नवौं तला), महाराजगञ्जमा आयोजित एक भव्य समारोहका बीच गीत सार्वजनिक गरिएको हो।
कार्यक्रम राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम सभापतित्वमा सम्पन्न भएको हो । प्रमुख अतिथिको रुपमा कृषि विकास बैंक लिमिटेडका सञ्चालक समिति अध्यक्ष डिम प्रसाद पौडेलको उपस्थिति रहेको थियो। विशेष अतिथि रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर तथा अतिथिहरू चन्द्र शर्मा र दुर्गा रायमाझी सहभागी भएका थिए।
गीत ‘साथी’ मा लोकप्रिय गायकहरू पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, राजु गुरुङ, अर्जुन सापकोटा, घनश्याम रिजाल तथा प्रकाश पराजुलीको स्वर सुन्न सकिन्छ। गीतका शब्द घनश्याम रिजालले लेखेका हुन् भने संगीत शिव हमालले भर्नुभएको छ। उक्त गीत घनश्याम रिजालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
साथै सोही समारोहका अवसरमा कृषि विकास बैंक लिमिटेडका सञ्चालक समिति अध्यक्षमा हालै नियुक्त हुनुभएका डिम प्रसाद पौडेललाई बधाई ज्ञापन गरिएको छ। स्याङजा सष्ट्रा सदनका सल्लाहकार समेत रहनुभएका पौडेललाई संस्थाका वरिष्ठ उपाध्यक्ष शिव हमालले बधाई पत्र हस्तान्तरण गर्नुभएको थियो।














