काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी २० सिरिजअन्तर्गत आफ्नो छैटौँ खेलमा नेपालको राष्ट्रिय टोली पाकिस्तान शाहीन्ससँग १ रनले हारेको छ।
सुरुमा ब्याटिङ रोजेको शाहीन्सले पहिलो इनिङ्समा ९ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। नेपालका लागि सोमपाल कामीले ३, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २(२ र कुशल भुर्तेलले १ विकेट लिएका थिए।
लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात खासै राम्रो नभए पनि कप्तान रोहित पौडेलले ५२ रन बनाएपछि जितको सम्भावना बलियो बनेको थियो। उनी आउट भएपछि दीपेन्द्रसिंह ऐरीले उक्त सम्भावना कायमै राखेका थिए।
तर कुशल मल्ल र आरिफ शेखले पर्याप्त रन बनाउन नसक्दा नेपाल १४३ रनमै रोकियो। त्यतिन्जेल नेपालको ७ विकेट गएको थियो।
यसअघि ५ खेल खेलेको नेपाल ३ खेलमा पराजित भएको थियो भने २ खेल जितेको थियो।












