प्रधानमन्त्री ओली मधेशमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० साउन ।  प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेशको राजधानी जनकपुर जाँदैछन्। उनले दुई महत्वपूर्ण पूर्वाधार परियोजनाको उद्घाटन र शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे जनकपुर आइपुग्नेछन्। उनको प्रमुख कार्यक्रम मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन हो। त्यसअघि उनले एक स्थानीय सडकको उद्घाटन पनि गर्नेछन्।

उक्त कार्यक्रमपछि प्रधानमन्त्री ओली महोत्तरी जिल्लाको सोनमा गाउँपालिका पुग्नेछन्। दिउँसो १ बजे निर्धारित कार्यक्रममा प्रधानमन्त्रीले हुलाकी राजमार्ग अन्तर्गतको रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्डको ८।३८४ किलोमिटर लामो कालोपत्रे सडक निर्माणको शिलान्यास गर्नेछन्।

सडक निर्माण कार्यक्रम मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, विश्व बैंकको ऋण सहयोग, र प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत सञ्चालन हुँदैछ।

यस परियोजनाको लागि ३४ करोड ६९ लाख ५० हजार रुपैयाँभन्दा बढीको बजेट अनुमान गरिएको छ। सार्वजनिक टेण्डर प्रक्रियाबाट ढुकुछु निर्माण कम्पनी प्रा।लि। सँग १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँ ९भ्याट सहित० मा सम्झौता भइसकेको छ। सम्झौता अनुसार निर्माण कार्य २०८३ सालको चैत्र ११ गतेभित्र सम्पन्न गर्नुपर्नेछ।

सोनमा गाउँपालिका अध्यक्ष विश्वेश्वर प्रसाद यादवका अनुसार यो सडक निर्माण भएपछि महोत्तरीको ग्रामीण भेगमा यातायात सहज, व्यापार वृद्धि र क्षेत्रीय समावेशी विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्