काठमाडौं, साउन ४ । आइतबार राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा अवरूद्ध भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तारको कार्य भइरहेकोले सेवा अवरूद्ध भएको जनाएको हो।
विभागका अनुसार अनलाइनमार्फत विवरण संकलन तथा कार्ड वितरण सेवा, विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बर विवरणबाट प्रमाणीकरण सेवा, राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तर आवद्धता भएका अन्य सार्वजनिक सेवाहरू आंशिक रुपमा बन्द हुने जनाएको छ।
विभाग सम्बद्ध निम्न सेवा आंशिक रुपमा अवरूद्ध भएको र मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सुरु हुने विभागको सूचनामा उल्लेख छ। साथै, विभागले राष्ट्रिय परिचय पत्रको विवरण संकलन र वितरणसम्बन्धी कार्य अफलाइनमार्फत गर्न सकिने हुनाले सोही बमोजिम गर्ने गराउने व्यवस्था गर्न सबै राष्ट्रिय परिचय पत्र सेवा इकाईहरूलाई अनुरोध गरेको छ।
अफलाइनमार्फत राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराएका सेवाग्राहीलाई अनलाइन सेवा सुरू भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत प्राप्त हुनेछ।
त्यस्तै, आज पासपोर्ट विभागको वेबसाइटसमेत चलेको छैन। वेबसाइट बन्द भएको विभागको कुनै पनि सूचना तथा सर्वसाधारणलाई जानकारी दिइएको छैन।












