काठमाडौं, असार २० । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो।
कार्यालयद्वारा जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढी पहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ।
यसअघि असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बिपी राजमार्गमा असार ७ गतेदेखि सोही समयमा करिब १० घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाएको थियो।












