केही दिनयताको तनावपछि इजरायलले इरानमाथि आक्रमण शुरु गरेको छ। इजरायली रक्षामन्त्री इजराइल काट्जले आक्रमणको पुष्टि गरेका छन्। इरानी अधिकारीहरुका अनुसार इजरायलको आक्रमणमा इरान रेभोल्युशनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको छ।
इरानमा आक्रमण गरेपछि इजरायलले आफ्नो देशमा प्रतिकारात्मक आक्रमण हुन सक्ने आशंकामा संकटकाल घोषणा गरेको छ। रक्षामन्त्री काट्जका अनुसार इरानमा आक्रमणलगत्तै इजरायलका शैक्षिक गतिविधि, अन्य सार्वजनिक कार्यक्रम लगायतमा प्रतिबन्ध लगाइएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक भिडियो सन्देश जारी गर्दै इरानको मुख्य परमाणु केन्द्रमा आक्रमण गरिएको दाबी गरेका छन्। उनले इरानको राजधानी तेहरानबाट करिब २२५ किलोमिटर टाढा पर्ने नातांंज सहरस्थित मुख्य परमाणु केन्द्रमा आक्रमण गरिएको बताए।
इरानले सन् २०२१ मा यो केद्रमा भएको साइबर आक्रमणमा इजरायलको संलग्नता रहेको आरोप लगाएको थियो। यसैबीच अमेरिकाले इरानमा भएको इजरायली आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्ति जारी गर्दै इजरायलले आत्मरक्षाका लागि उक्त आक्रमण गरेको दाबी गर्दै अमेरिका भने सहभागी नभएको बताए।












