१२ देशका नागरिकलाई अमेरिका यात्रा प्रतिबन्ध

खबर बुक
  • ख-
  • ख+

२२ जेठ, काठमाडौं ।राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै १२ देशका नागरिकलाई अमेरिका यात्रा प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन्। बुधबार बेलुकी कोलोराडोको बोल्डरमा भएको यहुदी विरोधी आक्रमणपछि राष्ट्रपति ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेश निषेधको निर्णय लिएका हुन्।

यो प्रतिबन्ध जुन ९ देखि लागू हुनेछ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन गरी १२ देशका नागरिकलाई अमेरिका यात्रा पूर्ण रूपमा निषेध गरिएको छ।

यस्तै, बुरुन्डी, क्युबा, लाओस, सियरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुयला गरी सात देशका नागरिकलाई आंशिक प्रतिबन्ध लगाइनेछ। यो घोषणामा ग्रिनकार्डवाहक, हालका भिसावाहक, केही निश्चित भिसा श्रेणी र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिलाई छुट दिइएको छ।

नयाँ यात्रा प्रतिबन्धले अमेरिकीलाई खतरनाक विदेशी तत्त्वबाट जोगाउने चुनावी वाचा पूरा गरेको ट्रम्पले भनेका छन्।

पहिलो कार्यकालमा पनि ट्रम्पले सात बहुसंख्यक मुस्लिम राष्ट्रबाट यात्रुलाई अमेरिका आउन प्रतिबन्ध लगाएका थिए। उक्त नीतिले अदालतमा चुनौतीको सामना गर्नुपरेको थियो भने राष्ट्रपति जो बाइडेनले २०२१ मा कार्यभार सम्हालेपछि यसलाई खारेज गरेका थिए।

अफगानिस्तानका नागरिकमाथिको प्रतिबन्धले अमेरिकासँग त्यहाँको दुई दशक लामो युद्धमा सँगै काम गरेका अफगानीलाई प्रभावित पार्न सक्ने बताइएको छ।–एजेन्सी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्