दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता दिने

खबर बुक
  • ख-
  • ख+

२० जेठ, काठमाडौं ।गुल्मीको छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ। 

गाउँपालिकाले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराइरहेका, गम्भीर मुटुरोगी (ओपन हर्ट सर्जरी), क्यान्सर र मेरुडण्डको पक्षघातका बिरामीका लागि जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेका गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।

गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार कार्यपालिका बैठकबाट मासिक जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो। 

पालिकाले सूचना प्रकाशन गरी उक्त भत्ता प्राप्त गर्न बिरामीले सक्कल निवेदनसहित मेडिकल रिपोर्ट, नागरिकताको प्रतिलिपि, चेकको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने जनाएको छ।

सबै प्रक्रिया पूरा गरेपछि बिरामीको खातामा वार्षिक रुपमा भत्ता जम्मा हुने स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताए। गाउँपालिकाभित्र उक्त प्रकृतिका हाल ७५ बिरामी रहेका छन्।

छत्रकोट गाउँपालिकाले विपन्न बिरामीका लागि पनि रोगको प्रकृति हेरेर १० हजारदेखि २५ हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्