काठमाडौं । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकलाई सरकारी आठौँ तहसरहको तलब सुविधा तत्काल दिन निर्देशन दिएका छन्।
नेपाल चिकित्सक संघ र आवासीय चिकित्सक प्रतिनिधिसँगको बैठकमा मन्त्री पौडेलले माघ २५ गते चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयन नगरेका कलेजहरूलाई सरकारको कुनै सुविधा नदिने चेतावनीसमेत दिए।
निर्णयअनुसार आवासीय चिकित्सकलाई मासिक ४८हजार सात सय रुपैयाँ तलब दिनुपर्ने हो, तर निजी कलेजहरूले अझै १९ हजार ५ सय रुपैयाँ मात्र दिँदै आएका छन्। त्यसकै विरोधमा चिकित्सकहरू आन्दोलनमा छन्।
चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले आवासीय चिकित्सकलाई हप्तामा ७२ घण्टाभन्दा बढी काम गर्न नलगाउन निर्देशन जारी गर्न पनि आग्रह गरे। उनले न्यूनतम तलब नदिने कलेजहरूलाई नैतिक जिम्मेवारी लिनु पर्ने बताए।
आवासीय चिकित्सकहरूले तलब सुविधा नपाए नियमित सेवा बन्द गर्ने चेतावनीसमेत दिएका छन्।












