चालू अधिवेशनको अन्तिम संसद् बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

१९ चैत, काठमाडौं । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको छैटौं वार्षिक प्रतिवेदन २०८०÷२०८१, मुस्लिम आयोगको छैटौं वार्षिक प्रतिवेदन २०८०/२०८१ पेस हुनेछ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। 

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुको साथै पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक, २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयको सूचनमा उल्लेख छ। 

सरकारले चालू अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय सोमबार गरिसकेको छ। आज राती १२ बजेदेखि लागू हुने गरी संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

info-1743474997.webp

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्