१८ चैत, काठमाडौं । सरकारले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को चालू अधिवेशन चैत १९ गते मंगलबार राती १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालू हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
नेपालको संविधानबमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ। विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालू अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो।












