काठमाडौं,चैत्र १७ । संसदीय समितिले काठमाण्डौको तीनकुनेमा शुक्रवार भएका राजावादी प्रदर्शनका क्रममा भएका घटनाको सत्य तथ्य छानबिन गर्न र संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।आज बिहान बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई उक्त घटनाको छानबिन गरेर संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको हो।
समितिका सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्न र भविष्यमा यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सरकारलाई कडा सुरक्षा व्यवस्था लागू गर्न तथा समयमै प्रभावकारी नियन्त्रण अपनाउन निर्देशन दिए।
समितिले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। साथै, घाइतेहरूको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारलाई अनुरोध गरेको छ।












