काठमाडौं। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु. एक लाखको सहयोग प्रदान गरेका छन्।
रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका क्रममा डा. दीक्षितले उक्त रकम क्लबका अध्यक्ष ऋषि धमलालाई हस्तान्तरण गरेका थिए र रजकको परिवारलाई सो रकम उपलब्ध गराउन आग्रह गरे।
डा. दीक्षितले पत्रकारको मृत्युलाई गम्भीर विषयको रूपमा लिँदै आन्दोलनका क्रममा पत्रकारको ज्यान जाने घटना दुखद भएको भन्दै सबै सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन्।
साथै, उनले घटनाका घाइतेहरूको उपचार र मृतक परिवारलाई राहत रकम उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै भने, “सरकार सबैको अभिभावक हो र त्यो भूमिका निर्वाह गर्नमा म विश्वस्त छु।”












