लोक सञ्चारकर्मी नेपालले मनायो १६औँ स्थापनादिवस, भण्डारी लगायतलाई सम्मान

खबर बुक
  • ख-
  • ख+

२३ माघ, काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले १६औँ स्थापना दिवस मनाएको छ । २०६५ सालमा स्थापना भएको सो लोक सञ्चारकर्मी नेपालले आइतबार काठमाडौंको बालाजुस्थित बाइसधारामा १६औँ स्थापना दिवस मनाएको हो ।

सो समारोहमा रेडियोकर्मी ओम भण्डारीलाई ‘गोविन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान’ प्रदान गरिएको छ । लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियासील भण्डारीलाई नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले भण्डारीलाई नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् ।

संस्थाका तत्कालिन उपाध्यक्ष र सहसचिव समेत रहेका गोविन्द शर्माको सडक दुर्घटनामा निधन भएको थियो । उनै शर्माको स्मृतिमा अघिल्लो वर्षदेखि क्रियाशील पत्रकारिता सम्मान प्रदान गर्न थालिएको संस्थाका निवर्तमान अध्यक्ष हरिवल्लभ नेपालले बताए । 

सो अवसरमा संस्थालाई विगतदेखि नै महत्वपूर्ण योगदान गरेर यहाँसम्म ल्याइपुर्याउन भूमिका खेलेका संस्थापक अध्यक्ष गोविन्द गिरी र निवर्तमान अध्यक्ष हरिबल्लभ नेपाललाई पनि सम्मान गरिएको थियो । त्यसैगरी वर्तमान सचिव कमल सरगम चौलागाईँलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् तुलसी दिवसले सञ्चारको माध्यमबाट कला क्षेत्रको जगेर्ना गर्नमा महत्वपूर्ण भूमिका भइरहेको उल्लेख गर्दै लोक सञ्चारकर्मी नेपालले आगामी दिनमा पनि थप सशक्त भएर अघि बढ्नेमा विश्वास व्यक्त गरे । उनले गीतसंगीत भनेको सुन्ने र रमाउने मात्रै नभई देशको विकास र हरेक मौलिक संरक्षणको पनि महत्वपूर्ण पाटो भएको उल्लेख गरे ।

सम्मान ग्रहणपछि सञ्चारकर्मी भण्डारीले संस्कृतिपरक सृजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले श्रोतालाई कस्तो गीत सुनाउने पहिला हात कार्यक्रम सञ्चालकै भएकाले संस्कृतिलाई जोगाउने या भड्काउने यसैको भूमिकामा निर्भर रहने बताए । त्यसैगरी संस्थापक अध्यक्ष गिरीले संस्था स्थापना गर्दाका विभिन्न संघर्ष स्मरण गर्दै यो स्थानसम्म ल्याउन सफल भएको बताए ।

उनले संस्था स्थापनामा महत्वपूर्ण योगदान दिएका गोविन्द शर्मालाई गुमाउनु पर्दाको पीडा सधैँ बल्झिइरहने बताए । 

त्यस्तै निवर्तमान अध्यक्ष नेपालले विगतका संघर्षकै जोडबल र वर्तमान कार्यसमितिको कार्यसम्पादनले संस्थामा नयाँ उचाई थपिएको बताए । उनले आगामी दिनमा पनि संस्थालाई निरन्तर साथ दिने र अझै मौलिक लोक संस्कृतिको संरक्षण र संवर्द्धनमा परिवर्तन ल्याउन पहल गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा संस्थाको आधिकारिक वेबसाइटको लन्चसमेत गरिएको थियो । उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुदर्शन आचार्य, उपाध्यक्ष हरिप्रसाद दुलाल, संस्थापक स्वर्गीय शर्माकी धर्मपत्नी सिर्जना घिमिरे शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी महिला उपाध्यक्ष राधीका हमाल, लोक दोहोरी गायिका तथा पछिल्लो योगमाया सखीबाट उदाएकी बविता बानीयाँ जेरी, इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायत विभिन्न संघ–संस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

स्थापना दिवसमा संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्नेहरुलाई कदर पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । स्थापना दिवसकै अवसरमा वनभोजको पनि आयोजना गरिएको थियो । संस्थाको १६औँ स्थापना वनभोजको आयोजनासमेत गरिएको थियो । लोक सञ्चारकर्मीहरुको हकहित र लोक, कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा काम गर्दै आएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको २०६५ माघ २० गते स्थापना गरिएको थियो ।

यही अवसरमा माघ १९ गते शनिबार गोकर्णेश्वर नगरपालिका– ५ मा रक्तदानको आयोजना पनि गरिएको र २६ जनाले रक्तदान गरेको संस्थाका प्रवक्ता शिखर श्रेष्ठले जानकारी दिए । रक्तदान कार्यक्रमकाे आयोजनामा गोकर्णेश्वर नगरपालिका– ५ वडा कार्यलयको सहयोग तथा नेपाल मेडिकल कलेजअन्तर्गत रक्त सेवा विभागको प्राविधिक सहयोगमा गरेको प्रवक्ता श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्