काठमाडौं : ४ मंसिरमा हुने चुनाव नजिकिएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले दार्चुलाका सीमा नाकामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो ।
चुनावको मौका छोपेर तस्करी र आपराधिक क्रियाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी बल नं ४४ गण दार्चुलाका एसपी डम्बरबहादुर विष्टले जानकारी दिए ।
भारतसँग जोडिएका विभिन्न सीमा नाकाहरुमा अहिले बीओपीमार्फत् निगरानी बढाएको उहाँले बताउनु भयो । अहिले सुरक्षा निकायको ध्यान बढी चुनावमै केन्द्रित हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको एसपी विष्टले बताए।