पोखरा, असाेज १० । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २४ औँ वार्षिक साधारण सभा तथा विधान अधिवेशनकाे तयारी अन्तिम चरणमा पुगेकाे छ ।
असोज ११ र १२ गते दुई दिन हुने कार्यक्रमलाई भव्य बनाउन तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष रीता थापामगरले जानकारी दिइन् ।
अधिवेशनमा सहभागी बन्न देशैभरका लोकदोहोरी कलाकार शुक्रबार पोखरा जाने भएका छन्। विधान अधिवेशनले प्रतिष्ठानको विधान थप मजबुत बनाउने भएकोले अधिवेशनलाई महत्त्वका साथ हेरिएको छ ।
पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार दिउँसो १ बजे गर्नेछन् । सहभागीहरू पोखरा जाने क्रम सुरु भैसकेको छ ।
अधिवेशनमा केन्द्रीय समिति बाहेक ६ सय जना प्रतिनिधिको सहभागिता रहने अध्यक्ष थापा मगरले जानकारी दिइन् । विधान अधिवेशनमा समेट्ने विषयलाई अन्तिम रूप दिन आज दिउँसो ४ बजे केन्द्रीय कमिटीको बैठक पोखरामा बस्दैछ। सोही बैठकले के-के विषय राख्ने भन्ने बारेमा निर्णय गर्नेछ ।
मौलिक लोक संस्कृतिको संरक्षण सम्वर्द्धन र प्रवर्द्धनका निम्ति विकृति विसङ्गतिमा उद्धत सदस्यहरूको विषयमा शून्य सहनशीलताका विषय हुन सक्ने अध्यक्ष थापामगरले बताइन् । स्थानीय तह सम्म पुग्ने गरि विधानमा नगर समितिहरू बनाउने व्यवस्था बनाउन सकिन्छ कि भन्ने तयारी भएको उनको भनाइ छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा हुन लागेको साधारण सभा र विधान अधिवेशनको सह-आयोजकको जिम्मेवारी प्रतिष्ठान गण्डकी प्रदेश समिति र स्थानीय व्यवस्थापनको जिम्मेवारी जिल्ला समिति कास्कीले पाएको छ ।
प्रतिष्ठानले संस्थालाई थप मजबुत बनाउन विधानमा आवश्यक संशोधन, थपघट, कानुनी व्यवस्थाका विषयमा संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, कानुनी सल्लाहकार सहितको छलफल अयरपानी सामुदायिक होमस्टे, फेदीखोला-१ स्याङ्जामा केही दिन अगाडि गरेको थियो ।











