काठमाडाैं, ९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन बिभिन्न प्रतिवेदनमाथि चार वटा हलमा समूहगतरुपमा छलफल भएको छ ।
ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको तेश्रो दिन उपसभापित पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमाथि समूहगत रुपमा छलफल भएको प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।
समूहगत छलफलका क्रममा सबै जिल्लाका जिल्ला सभापतिहरु, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु, जनसम्पर्क समितिका प्रमुखहरुले बैठकमा पेश भएका पाँचवटै प्रतिवेदनमा आफ्नो धारणा राखेको उहाले बताउनुभयो । छलफलमा गोदावरी हलबाट ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरुले आफ्नो धारणा राखेकोे विश्वकर्माले बताउनुभयो ।
प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतराहरुलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिनुपर्ने लगाएत सुझाव आएको उहाको भनाइ छ ।
सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्न पनि अधिकांश महासमिति सदस्यहरुले सुझाव दिएका छन् । महासमिति बैठक अन्तर्गत बिहीबार समूहगत छलफलबाट प्राप्त सुझावहरु प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्ने र अपरान्ह समापन समारोह गरिने कांग्रेसले जनाएको छ ।











