वीर अस्पतालमा क्यान्सरको उपचार गर्ने ‘टोमोथेरापी’ सेवा सुरु

खबर बुक
  • ख-
  • ख+

राष्ट्रिय चिकित्सा प्रतिष्ठान वीर अस्पतालमा ‘टोमोथेरापी’ सेवा सुरु भएको छ। पाँच दिनदेखि वीर अस्पतालकै क्यान्सरका सातजनालाई थेरापी दिन सुरु भएको अस्पताल स्रोतले जनाएको छ।

सेवा सुरु गर्नको लागि अस्पतालले भारतीय अनुभवी प्रविधिज्ञ टोली झिकाई उनीहरूको समन्वयमा सेवा सुरु गरेको हो। सेवाको औपचारिक उट्घाटन भने दुई सातापछि मात्र हुने अस्पतालले जनाएको छ।

भारतीय प्राविधिक टोलीसहित अस्पतालका प्रविधिज्ञहरूले सेवा दिन सुरु गरेका हुन्। टोलीमा आएकामध्ये बिहीबार दुईजना भारत फर्किसकेका छन् भने केही वीरमै रहेका छन्।

अस्पतालकै प्रविधिज्ञहरूमा पूर्णदक्षता आएपछि केही दिनमै अस्पताल बाहिरका बिरामीलाई सेवा दिने तयारी भएको वीर अस्पताल अंकोलोजी विभागका प्रमुख डा। विवेक आचार्यले बताए। उनको अनुसार यसअघि नै वीरका प्रविधिज्ञले भारतमा गएर तालिम लिइसकेका थिए। उता हेरेर आएपछि यता प्रयोगमा उत्रिएका हुन्।

टोमोथेरापी सेवा सुरु भएसँगै क्यान्सरका बिरामीले राहत पाउने प्रमुख डा। आचार्यले बताए। उनको अनुसार क्यान्सरको ट्युमर वा क्यान्सरकोे कोष नष्ट गर्नको लागि टोमोथेरापी अत्याधुनिक उपकरण हो। यो थेरापीले सिटिसक्यान गर्दै स–साना क्यान्सरका कोेषहरू खोजेर नष्ट गर्छ।

क्यान्सरको कोष वा ट्युमर मात्र नष्ट गर्ने र राम्रो कोषलाई असर नगर्ने भएकोले यो बिरामीको लागि लाभदायक मानिन्छ। यसअघि प्रयोग भएका रेडियोथेरापीले भने क्यान्सरका साथै राम्रो कोष पनि नष्ट गर्छन्।

वीरबाट यो सेवा दिँदा पूरा कोर्षका लागि एक लाख ५० हजार रूपैयाँ लाग्नेछ। तर यो सेवा निजी क्षेत्रबाट लिँदा पाँच लाखसम्म लाग्ने हुनाले विपन्न बिरामीका लागि उपचारमा सहज पहुँच हुनेछ।

‘सरकारी अस्पताल भएकाले हुँदै नहुने बिरामीको लागि निःशुल्क सेवा पनि दिन सकिन्छ,’ उनले भने। एउटा बिरामीको लागि पाँच लाखसम्म लाग्न सक्छ। बिहानदेखि बेलुकीसम्म सेवा दिएमा दैनिक ६० हजार बिरामीलाई टोमोथेरापी सेवा दिन सकिने डा। आचार्यले बताए।

अस्पतालका निर्देशक डा। सन्तोष पौडेलका अनुसार टोमोथेरापी मेशिन छ वर्ष अघि ४० करोड नेपाली रूपैयाँमा खरिद गरी ल्याइएको थियो।

आयत कम्पनीले सशस्त्र प्रहरी बल अस्पतालमा भण्डारण गर्दा खिया लागेको थियो खिया लागेपछि जडान गर्न आएको कम्पनकिो प्रविधिज्ञ फिर्ता गएको थियो।

अस्पतालले पुनः खरिदको लागि अस्पतालले नबेहोर्ने बताएपछि सम्बन्धित कम्पनीले गत वर्ष पुनः खरिद गरी लिएको हो। ६ महिनाअघि मेसिन जडान कार्य सुरु भएको थियो। अस्पतालले बंकर भने पाँच वर्षअघि नै तयार पारिसकेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्