सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

खबर बुक
  • ख-
  • ख
  • ख+

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताउनुभएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले आज तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजित चुनावीसभामा प्रधानमन्त्री दाहालले यो यात्रालाई पूर्णता दिने अभियानमा आफूहरु रहेको बताउनुभयो ।

उहाँले देशमा सुशासनको यात्रा सुरु भइसकेको भन्दै त्यसलाई पूर्णता दिन आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । मुग्लिन पोखरा सडकको काम सुस्त गतिमा भएकाले जनताले असजिलो र पीडा महशुस गर्दै आएकाले सडकको कामलाई तीव्रता दिइने प्रधानमन्त्री दाहालले बताउनुभयो ।

बन्दीपुरमा लिफ्टिङ गरेर खानेपानी योजना पूरा गराउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले तनहुँ र चितवन जोड्ने घुमाउनेमा बन्दै गरेको पुल एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताउनुभयो ।

भानु जन्मस्थललाई संसारभरिका नेपाली भाषीले अध्ययन गर्ने साधना केन्द्रका रुपमा विकास गरिने बताउँदै प्रधानमन्त्री दाहालले भानुभक्त प्राणी उद्यानको कामलाई गति दिइने बताउनुभयो ।

देवघाट ऐतिहासिक स्थल नेपालका मात्र नभई दक्षिण एशियाका लागि प्रसिद्ध रहेकाले देवघाटमा सांस्कृतिक विश्वविद्यालय बनाउनेबारेमा गम्भीर अध्ययन गरिने दाहालले विश्वास व्यक्त गर्नुभयो । तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराई परिवर्तनका निम्ति परिचित भएकाले उहाँलाई जिताएपछि मन्त्री बनाउने दाहालले घोषणा गर्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्