काठमाण्डौ, माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली श्रमिकको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली श्रमिकको हितका विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकहरूको न्यूनतम पारिश्रमिक १२ सय रिगिंटबाट बढाएर १५ सय बनाएकोमा धन्यवादसमेत दिनुभएको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार फ्री भिसा र फ्री टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताउनुभएको छ ।









