बारा, १६ माघ । किसानलाई सहुलियतका लागि बाराको पचरौता नगरपालिकाले नगरक्षेत्रमा चलाइएको कृषि मिटरको महसुल रकम नेपाल विद्युत प्राधिकरणलाई तिरिदिएको छ ।
पचरौता नगरपालिका नगरप्रमुख जलन्धर सिंह जैसवार र वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी साहले सोमबार काठमाडौंमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विद्युत् मिटरको महसुल बुझाउनुभएकाे हाे ।
नगरपालिकाकको नगर सभाको निर्णय अनुसार यस अघिको बक्यौता रकमदेखि हालसम्मको रकम गरि करिब ४८ लाख १५ हजार रुपौया नगरपालिकाले भुक्तानी गरेको पचरौता नगरपालिका कर्मचारी मुकेश सिंहको जानकारी दिनुभयाे ।
नगरक्षेत्रभित्र रहेका १ हजार ३३ किसानले खेतीपातीका लागि जडान गरेको कृषि विद्युत् मिटरको महसुल तिरिएको हो ।
कृषि मिटर चलाउँदा किसानले खपत गरेको विद्युत्को महसुल नगरको कृषि शाखामार्फत सम्बन्धित किसानका नाममा विद्युत् प्राधिकरणलाई सोझै भुक्तानी गरिने प्राधिकरणसँग नगरको सम्झौता भएको नगरप्रमुख जैसवारले बताउनुभयाे ।
कृषि मिटर चलाएका किसानले प्राधिकरणमा मिटर किन्दा लिएको रसिद, ग्राहक नम्बरसहित कृषि शाखामा दर्ता भएपछि त्यसका आधारमा नगरले महसुल प्राधिकरणलाई भुक्तानी दिने गरेको वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी साहले बताउनुभयाे ।
नगरक्षेत्रमा १ हजार ३३ जना किसानले कृषि मिटर जडान गरेको प्राधिकरणको तथ्यांक छ । किसानले खेतीपाती गर्दा मासिक रूपमा खपत गरेको विद्युत्को बिलअनुसार प्राधिकरणलाई भुक्तानी दिने गरेको छ ।











