काठमाडौं, २८ कात्तिक। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको फिर्तीका सम्बन्धमा भारतले दुईवटा सर्त अघि सारेको छ।
बीबीसी बंगलाको एक रिपोर्टअनुसार भारतीय अधिकारीहरू चाहन्छन् कि बंगलादेशी सेना आफैं भारत आएर हसिनालाई साथमा लिएर जाओस्।
भारतको दोस्रो सर्त यो छ कि बंगलादेश सरकारले निष्पक्ष सुनुवाइको सुनिश्चितता प्रदान गर्नुपर्छ । विशेष गरी, उनलाई मृत्युदण्ड दिइने छैन र बंगलादेश फर्केपछि अदालतमा आफ्नो पक्ष राख्ने पूर्ण अवसर दिइनेछ। यद्यपि, भारत सरकारले यी दुई सर्तहरूबारे अहिलेसम्म कुनै आधिकारिक विज्ञप्ति जारी गरेको छैन।
हसिनाले डिसेम्बरमा बंगलादेश फर्कने इच्छा व्यक्त गरेकी छिन्। विभिन्न रिपोर्टहरूका अनुसार उनको फिर्तीका विषयमा भारतले विगत केही महिनादेखि बंगलादेश सरकारसँग छलफल गरिरहेको छ।
एक भारतीय अधिकारीका अनुसार यदि उनलाई फिर्ता लैजानुपर्ने अवस्था आएमा यो काम बंगलादेशी सेनाले नै गर्नुपर्ने हुन्छ। यसका लागि बंगलादेशी सेनाले दिल्लीमा विमान पठाउन सक्छ वा आफ्नै प्रबन्धमार्फत उनलाई सीमासम्म पुर्याउन सक्छ। भारत यस सम्पूर्ण प्रक्रियाका लागि आवश्यक प्रबन्ध मिलाउन तयार छ।
विशेषज्ञहरूका अनुसार, यसमा दुई मुख्य पक्षहरू रहेका छन् । पहिलाे सुरक्षा, भारत यो सुनिश्चित गर्न चाहन्छ कि शेख हसिना सुरक्षित रूपमा बंगलादेश पुगोस् र उनको फिर्तीका क्रममा कुनै अप्रिय घटना नघटोस्। र दाेस्राे जिम्मेवारी, सामान्य सरकारी वा प्रहरी संयन्त्रको सट्टा सेना आफैंले उनको ओसारपसारको व्यवस्थापन गर्ने भएकाले उनको सुरक्षित फिर्तीको जिम्मेवारी पनि सेनाकै हुनेछ।
साथै, कानुनी कारबाहीमा अन्तर्राष्ट्रिय निगरानी हुनु पर्नेछ । बंगलादेशको एक अदालतले हसिनालाई सजाय सुनाइसकेको छ। भारत चाहन्छ कि उनले यस फैसलाउपर पुनरावेदन गर्ने मौका पाऊन्। यसका साथै, भारत सन् २०२४ को जुलाईमा भएको हिंसासँग जोडिएका आरोपहरूमाथि पुनः सुनुवाइ होस् भन्ने चाहन्छ।
भारतको विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसी बंगलाले जनाएअनुसार निष्पक्ष सुनुवाइको अवसर नदिई हसिनालाई सुपुर्दगी गर्न भारत चाहँदैन। भारत चाहन्छ कि सम्पूर्ण कानुनी प्रक्रिया अन्तर्राष्ट्रिय समुदाय र विश्व सञ्चारमाध्यमको निगरानीमा रहोस्।
साथै, स्वदेश फिर्तिका लागि हसिनाले नोभेम्बर ९ मा नयाँ राहदानी र यात्रा कागजातहरूका लागि आवेदन दिइन्। भारत पुगेयता बंगलादेश सरकारसँग उनको यो पहिलो औपचारिक सम्पर्क थियो। शेख हसिना ५ अगस्ट २०२४ मा सैन्य विमानमार्फत भारत पुगेकी थिइन्।
यद्यपि, ढाकाले भनेको छ कि यदि उनी साँच्चै आफ्नो देश फर्कन चाहन्छिन् भने उनले भारतीय सरकारसँग सम्पर्क गर्नुपर्छ। उनको फिर्ती प्रक्रिया दुई राष्ट्रबीचको सुपुर्दगी सन्धिअन्तर्गत अघि बढाउन सकिन्छ। बीबीसी बंगलाको एक रिपोर्टअनुसार, भारतसँग आफ्नो फिर्तीसम्बन्धी सहमति भएपछि मात्र हसिनाले डिसेम्बरमा आफू फर्कने घोषणा गरेकी थिइन्।



